हेटौँडा, साउन १३ । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव आज पारित भएको छ।
संसदीय दलमा भएको मतदानमा लामाको पक्षमा १५ जना सांसदले मतदान गरे भने विपक्षमा २२ जना उभिए। कुल ३७ जना सांसद रहेको कांग्रेस संसदीय दलमा लामाले स्पष्ट रूपमा विश्वास गुमाएका छन्।
लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने समूहले उनको स्थानमा कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई नेतृत्वको विकल्पका रूपमा अघि सारेका थिए।
अब बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। लामाले बहुमत गुमाइसकेकाले अब उनको राजीनामा दिनुपर्ने नैतिक दायित्व बढेको राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन्।
संसदीय दलभित्रै नेतृत्वको विवाद उत्कर्षमा पुगेसँगै कांग्रेसभित्रको आन्तरिक खिचातानी स्पष्ट रुपमा बाहिरिएको छ।
























