हेटौंडा, साउन ९ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा गम्भीर राजनीतिक हलचल देखिएको छ । प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकपछि इन्द्रबहादुर बानियाँको नेतृत्वमा लामालाई दलको नेताबाट हटाउन २१ जना सांसदले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा कांग्रेसका चार मन्त्रीहरूको पनि समर्थन छ।
मुख्यमन्त्री लामाको नेतृत्वमा आएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति दलभित्र तीव्र असहमति देखिएपछि यो अविश्वास प्रस्ताव अघि सारिएको बताइएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग बलियो बन्दै गएको छ।
अविश्वास प्रस्ताव दर्ता गर्नुअघि सरकारका चार जना मन्त्री—सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ, र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन—ले पदबाट राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री लामालाई राजीनामा पत्र ह्वाट्सएपमार्फत पठाएको स्रोतले जनाएको छ।
संसदीय दलको विधानअनुसार दलको नेता नै मुख्यमन्त्री हुने भएकाले नेतृत्व परिवर्तनको प्रक्रिया अविश्वास प्रस्तावबाट अघि बढाइएको हो।
पार्टी सभापति शेरबहादुर देउवाले समेत सरकारको नेतृत्व परिवर्तनको पक्षमा स्पष्ट निर्देशन दिएकाले इन्द्रबहादुर बानियाँको पक्ष अझ सशक्त बन्दै गएको छ। देउवाले केही दिनअघि मुख्यमन्त्री लामालाई बोलाएर राजीनामा दिन आग्रह गरेको स्रोतको दाबी छ । तर, लामा भने आफ्नो पद नछाड्ने अडानमा कायम छन्।
२०७९ साल पुस १३ गते भएको कांग्रेस संसदीय दलको निर्वाचनमा लामा २१ मतसहित विजयी हुँदा बानियाँले १६ मत पाएका थिए। अब त्यही प्रतिस्पर्धा फेरि दोहोरिने संकेत देखिएको छ, तर यसपटक बहुमत बानियाँ पक्षमा जान सक्ने आँकलन गरिएको छ ।
























