काठमाडौँ । ललितपुर नगरपालिकाका पूर्वप्रमुख तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिएअनुसार, शनिबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा बज्राचार्यको निधन भएको हो । उनका अनुसार, “स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा राखिएको छ। उहाँका कान्छा छोरा विदेशबाट फर्किएपछि भोलि अन्त्येष्टि गरिनेछ ।”
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सन् २००५ (वि.सं. २०६१) मा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त भएका थिए । त्यसअघि उनले वि.सं. २०५४ मा एमालेबाट ललितपुर नगरपालिकाको मेयरको जिम्मेवारी सम्हालेका थिए ।
बज्राचार्य लामो समयदेखि ललितपुरको स्थानीय राजनीतिमा सक्रिय थिए। वि.सं. २०२७ मा ललितपुर पञ्चायत क्षेत्र नं. १७ का वडाध्यक्ष, २०३२ मा प्रधानपञ्च भएर काम गरेका थिए । २०३६–२०३७ मा ललितपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष, २०३८ मा कार्यवाहक अध्यक्ष र २०३९–२०४० सम्म अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए ।
उनको निधनप्रति ललितपुरवासी, राजनीतिक दल तथा उद्योग वाणिज्य क्षेत्रले शोक व्यक्त गरेका छन् ।

























