काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभामा अभद्र व्यवहार देखाएको भन्दै कडा आपत्ति जनाएको छ। कांग्रेसले उनीहरूलाई सदनबाट निष्कासन गर्नेसम्मको मागसमेत अघि सारेको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाका सांसदहरूले संसद्को मर्यादा र नियमावली विपरीत व्यवहार गरेको टिप्पणी गरे। उनले प्रतिनिधिसभा नियमावली उल्लेख गर्दै अमर्यादित पोसाकमा सांसदहरू उपस्थित भएकोप्रति आपत्ति जनाए।
“कोही स्कार्फ र निलो रिबन लगाएर आएका छन्, कोही हाफ पाइन्टमै आएका छन्,” उनले भने, “भोलि जे मन लाग्यो त्यही कपडा लगाएर संसद् आउन थाल्दा यसलाई मर्यादाभित्र राख्ने कि नराख्ने?”
सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउँदै घिमिरेले सांसदहरूको पोसाक र आचरणप्रति संसद्को नियम अनुसार कारबाहीको माग गरे।
उक्त वक्तव्य दिइरहँदा रास्वपाका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेका थिए। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै निरन्तर सदन अवरोध गरिरहेका छन्।
रास्वपाका सांसदहरूले मंगलबार निलो रिबन लगाएर संसद्मा उपस्थिति जनाएका थिए। पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार, मानव तस्करीविरुद्धको अभियानको प्रतीकका रूपमा विश्वभर प्रयोग हुने ‘ब्लू रिबन’ अभियानमा समर्थन जनाउन सांसदहरूले उक्त रिबन भिरेका हुन्।
रास्वपाले जेठ १३ गतेदेखि निरन्तर भिजिट भिसा दुरुपयोगसम्बन्धी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ। तर सत्तारुढ दलहरूले भने त्यसलाई अस्वीकार गर्ने र सदन सञ्चालनमा बाधा नपर्नुपर्ने अडान लिएका छन्।