काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा अवरोध जारी राखिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकताको पाठ नपढाउन चेतावनी दिएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाको विरोधकै बीचमा बोल्दै कांग्रेस सांसदले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको मागप्रति आपत्ति जनाए। उनले अख्तियारले छानबिन गरिरहेको मुद्दालाई लिएर मन्त्रीको नैतिक जिम्मेवारीको कुरा उठाउनुको औचित्यबारे प्रश्न उठाए ।
उनले भने, “कर्मचारीमाथि छानबिन भइरहेको विषयमा मन्त्रीको राजीनामा माग्नेहरूले आफ्नो पार्टीको सभापति पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा खेपिरहेको, सर्वोच्च अदालतबाट थुनामा पठाइएको व्यक्ति बनाइराखेको नैतिकता कहाँ गयो ?”
उनले रास्वपाका सभापति रवि लामिछानेलाई जेलमा रहेका बेला समेत पार्टीको नेतृत्व गरिरहेको तथ्य औंल्याउँदै भने, “अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाका सभापति रवि लामिछाने नै हुनुहुन्छ । जेलमा रहेकै अवस्थामा उहाँ पार्टीको सभापति हुनुहुन्छ । यस्तो पार्टीले अरुलाई नैतिकताको पाठ सिकाउन मिल्छ ?”
उनले रास्वपालाई आफ्नो घरभित्रको नैतिकता हेर्न र त्यसपछि मात्र अरुलाई प्रश्न गर्न आग्रह गरे । “रास्वपाको संसदीय दलको नेता परिवर्तन भएको कुनै खबर आएको छैन । अहिले पनि संसद सदस्यबाट निलम्बित व्यक्ति नै संसदीय दलको नेता रहेका छन् । यस्तो अवस्थामा अरुलाई नैतिकताको पाठ पढाउनु कति न्यायोचित हो ?” उनले प्रश्न गरे ।