काठमाडौँ । लामो समयदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरूबीच दुई बुँदे सहमति भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भिजिट भिसा प्रकरणको छानबिनसम्बन्धी विषयमा सहमति जुटेको हो । यो सहमतिसँगै माओवादी केन्द्र संसदको अवरोध खुलाउन तयार देखिएको छ, भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अहिलेलाई एक्लिएको छ ।
शुक्रबार दिउँसो नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यस सहमति पत्रमा रास्वपाको भने हस्ताक्षर छैन, उसको लागि ठाउँ खाली राखिएको छ ।
सहमति भएका दुई बुँदाहरू निम्न रहेका छन्स्
१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने । उक्त कार्यका लागि अख्तियारले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।
२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्ने ।
संसद खुलाउने तयारी र माओवादीको भनाइ
संसद अवरोध खुलाउने विषयमा बिहीबार नै प्रमुख दलहरूबीच सहमति भएको थियो र त्यसलाई आज औपचारिकता दिइएको हो । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने र आफूहरूले संसद अवरोध खुलाउने गरी सहमति भएको बताएका छन् । उनले सम्भवतः आजैबाट संसद चल्ने जानकारी दिएका छन् ।
जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन गर्नुपर्ने मागसहित अवरुद्ध हुँदै आएको थियो । यो सहमतिसँगै अब सदनमा रास्वपा एक्लिएको अवस्था छ ।
रास्वपाको आन्तरिक छलफल
रास्वपाले भने यस सहमतिबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । रास्वपाका नेता शिशिर खनालले पार्टी अहिले आन्तरिक छलफलमा रहेको र केहीबेरमा आधिकारिक धारणा दिने बताएका छन् । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समितिलगायत ५ बुँदे प्रस्तावमा अडान छाडेको छैन ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आजबाट संसदको अवरोध खुल्ने बताए पनि रास्वपाको आधिकारिक धारणा कुरिरहेको स्पष्ट पारेका छन् । यता, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने रास्वपाले नमाने पनि आजबाट संसद बैठक सञ्चालन हुने दावी गरेका छन् ।

























