काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरु सबै दलका भएको भन्दै उनीहरुका माग सम्बोधन गरी तुरुन्तै विद्यालयमा पठाउन माग गरेका छन् । आज प्रतिनिधिसभामा बोल्दै उनले नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षकको आन्दोलनबारे जवाफ दिन पनि माग गरेका छन् ।
शिक्षकहरुका माग सम्बोधन गर्दा राज्यलाई पर्ने आर्थिक भारको विश्लेषण गर्न सक्ने राष्ट्र बैंकमा गभर्नर पद रिक्त भएको भन्दै उनले तत्काल गभर्नर नियुक्तिको माग गरेका छन् ।
यसैगरी माओवादी केन्द्रकी सांसद रेखा शर्माले विषयको गाम्भिर्यता हेरी शिक्षकहरुका माग सम्बोधन गर्न माग गरेकी छिन् । सरकारले परिस्थिति सम्हाल्नुको साटो झन् भड्काउने कामग गरेको आरोप लगाउँदै उनले समस्या समाधान गर्न छिटो भन्दा छिटो सरकार अग्रसर हुनुपर्ने बताइन् ।
माओवादीकै अर्का सांसद महेन्द्रबहादुर शाहीले भने प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा दिनु पर्ने बताए । शिक्षक र चिकित्सक आन्दोलनमा रहेको र कर्मचारीहरु पनि आन्दोलनमा जाने तयारीमा रहेको भन्दै उनले उनीहरुका कुरा नसुन्ने प्रधानमन्त्रीले पदमा रहीरहने नैतिकता गुमाएको उनले बताए ।
रास्वपाका सांसद मनिष झाले सरकारले राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रलाई हतकडी लगाएर थुनामा राखेको भन्दै विरोध जनाएका छन् । उनले सुशासनको कुरा गर्ने सरकारले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण किन सार्वजनिक नगरेको भन्ने प्रश्न पनि गरेका छन् ।
राप्रपाकी सांसद रोशन कार्कीले सरकारले आन्दोलनमा उठेका माग नसुनेको भन्दै आलोचना गरेकी छिन् । सहकारी पीडित महिलाहरुले सोमबार अर्धनग्न प्रदर्शन गरेको भन्दै उनले त्यसरी महिलाहरुलाई प्रदर्शन गर्न बाध्य नपार्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।