काठमाडौं । शिक्षक आन्दोलन र शिक्षकहरूका प्रतिनिधिको भूमिकामाथि नेकपा एमालेले प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद ठाकुर गैरेले शिक्षक महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँगको बैठकपछि खुसी भएर फर्किए पनि बाहिर गएपछि अमिलो अनुहार लगाउने गरेको आरोप लगाएका छन् ।
सत्तारुढ दलको नेता र मन्त्रीहरूको बैठकमा पनि शिक्षक साथीहरू खुसी भएर फर्किए पनि बाहिर आउने वित्तिक असन्तुष्टि जनाउनुले उनीहरु कसबाट प्रभावित छन् भन्ने प्रश्न उठेको उनले बताए । शिक्षक आन्दोलनलाई विपक्षी दलहरूले सरकार ढाल्ने अस्त्र बनाएको गैरेको आरोप छ ।
सांसद गैरेले शिक्षकहरुका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताएका छन् । सत्तापक्षले प्रतिपक्षलाई र प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ नरहेको बताउँदै उनले सडकमा सुरक्षाकर्मी र शिक्षकहरुको बीचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर मात्र समस्याको समाधान नहुने बताए ।
शिक्षकहरुका जायज मागहरु पूरा गर्दै प्रभावित भइरहेको नियमित शैक्षिक गतिविधिहरुलाई सुचारु गर्न सकारात्मक सहयोग आजको आवश्यकता भएको उनको भनाइ छ ।
यस्तै एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदनप्रति सरकार जिम्मेवार रहेको बताएका छन् । विपक्षी दलहरूले आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भए पनि कार्यसूचीमा नपरेपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद्प्रति जबाफदेही नभएका आरोप लगाएका थिए ।
त्यसको जवाफमा दिँदै बर्तौलाले सदनमा उठिरहेको विषय समाधान गर्नको लागि सरकार लागिपरेको बताए । उनले आज बेलुकासम्म समस्या समाधान भएर शिक्षकहरू विद्यालय फर्किँदा सबैलाई सहज हुने बताउँदै त्यसै अनुुसार वार्ता भइरहेको बताएका छन् ।