काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तला खेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विकले बताए । उनले भने, ‘दुई/तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो । अहिले के भयोभयो, फल नै लाग्दैन, सुन्तलाको बोटमा विभिन्न रोग देखापर्ने समस्या आएको छ ।’
उनी अगाडि भन्छन्, ‘पहिले समयमा आकाशे पानी पर्थ्यो, अहिले सुन्तलाले फूल खेल्ने बेलासम्म पनि पानी पर्दैन । करिब एक सय ५० सुन्तलाको बोटमा रोग देखिएको छ, फल पनि लाग्दैन, के भएको हो ? कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सोधपुछ गरिरहेका छौँ ।’ यसको समाधान केही नभएको प्राविधिकबाट जवाफ पाएको उनले बताए । विगतमा एउटा बोटको सुन्तला एक क्रेट हुने भए पनि अहिले एक किलो पुग्नसमेत मुस्किल हुने गरेको विकको अनुभव छ ।
किसान रामबहादुर अधिकारी भन्छन्, ‘सुन्तलाले फूल खेल्ने बेलामा पानी पर्नै छोडेको छ, अचेल मौसम फेरिएको जस्तो पो लाग्छ, पानीको अभावले सुन्तला उत्पादनमा कमी आउन थालेको छ ।’ फूल खेल्ने बेलामा पानी नपरेर फल लाग्नै नसकेको भन्दै सिँचाइका लागि पानी नहुँदा उत्पादनमा कमी आएको उनको बुझाइ छ । ‘यहाँ सिँचाइका लागि पानीको मुहान पर्याप्त छैनन्, एकमात्र कुवाको पानी गाउँलेले पिउनुपर्ने र वस्तुभाउलाई खुलाउनुपर्ने बाध्यता छ’, अधिकारीले भने, ‘त्यही मुहानबाहेक अरु छैन, सिँचाइका लागि पानी अभाव छ ।’ आकाशे पानीको भर पर्नुपर्ने भए पनि आजकाल पानी पर्ने समय फेरिएको उनले बताए ।
सुन्तला उत्पादन वृद्धि गर्न फूल खेल्ने बेलामा कृत्रिम परागसेचन गराउन प्रविधि प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । सुन्तलाको परागसेचनका लागि प्राकृतिक भए उत्कृष्ट भन्दै नेपालमा कृत्रिम परागसेचन गर्ने प्रविधि प्रयोगमा नआएको केन्द्रका सूचना अधिकारी किरण परियारले बताए । ‘प्राकृतिक रूपमा हुने उत्पादन जैविक र सेवनका लागि उपयुक्त मानिन्छ । कृषिप्रधान देशमा यस्ता कृत्रिम प्रविधि कम प्रयोग हुन्छन्, वा प्रयोग नै हुँदैनन् । प्रकृतिमा परिवर्तन आउँदा किसान मारमा परेका छन्,’ उनले भने ।
‘किसानले जलवायु परिवर्तनको प्रभावका कारण यस्ता परिवर्तन भइरहेका भन्ने थाहा पाएका छैनन् । प्रत्यक्ष रूपमा खेतीबालीमा जलवायु परिवर्तनको प्रभाव परिरहेको छ,’ उनले भने । सुन्तलामा समस्या आएको किसानबाट गुनासो आउने गरेका भन्दै जलवायु परिवर्तनको प्रभाव भन्ने किसानले नबुझेकाले बुझाउन समस्या हुने गरेको उनले बताए । सुन्तलामा विभिन्न सङ्क्रमणका कारण लाग्ने रोग र उपचार केन्द्रसँग नभएको परियारले बताए । सामान्य रूपमा सङ्क्रमण न्यूनीकरणका उपाय अनाउने र किसानलाई सिकाउने गरिएको, सिँचाइलाई बढी प्राथमिकता दिन सुझाव दिने गरिएको केन्द्रले जनाएको छ । (रासस)