म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मा रहेको पर्यटकीय सम्भावनायुक्त पुतलीडाडाँ जोड्ने पदमार्ग पहिचान भएको छ ।
मल्कबाङका जनप्रतिनिधि, अगुवा र प्राविधिकको टोलीले समुन्द्रि सतहदेखि तीन हजार ४५३ मिटर उचाइमा आकर्षक दृष्य अवलोकनस्थलको सम्भावना बोकेको पुतलीडाडा जोड्ने पदमार्ग पहिचान गरेका हुन् ।
परापुर्वकालदेखि नै मल्कबाङका बासिन्दा लेकको बुकीमा घरपालुवा जनावरको घुम्ती गोठ लैजान र गाउँ फर्काउन प्रयोग गर्दै आएको बाटो पछ्याउदै पर्यटकीय पदमार्ग पहिचान गरेको धवलागिरी गाउँपालिका–५ का वडा अध्यक्ष अमर छन्त्यालले बताए।
‘प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको पुतलीडाडाँलाई पर्यटकीय गन्तब्यका रूपमा विकास गर्ने उद्देश्यले मल्कबाङदेखि मयालेडाडा हुँदै त्यहाँसम्म पुग्ने परम्परागत मार्ग पहिचान गरेका हौ,’ उनले भने ‘पूर्वाधार निर्माण र प्रवर्द्धनका क्रियाकलापलाई सँगसँगै अघि बढाएका छौँ ।’
मल्कवाङदेखि चार घण्टा उकालो पैदलयात्रा गरेपछि पुतलीडाडाँमा पुगिन्छ । पदमार्ग निर्माणका साथै पुतलीडाँडालगायत मल्कबाङको इतिहाँस झल्किने बृत्तचित्र तयार पार्न लागिएको वडा अध्यक्ष छन्त्यालले बताए।
गाउँपालिका र समुदायको साझेदारीमा मल्कबाङको इतिहाँस झल्काउने वृत्तचित्र निर्माणका लागि विवरण संकलनका साथै स्थलगत छायाङ्कन तीव्र पारिएको वडाअध्यक्ष छन्त्यालले बताए।
मल्कवाङको शिरमा रहेको उक्त पहाडको टाकुरा पुतलीआकारको भएकाले पुतलीडाँडा नामाकरण भएको स्थानीय दबहादुर छन्त्यालले बताए।
‘चुचुरोमा पुगेर गाउँतिर हेर्दा उड्दै गरेको पुतलीको आकारको पहाडको अनौठो दृष्य देखिन्छ’ उनले भने ‘अनौठो पहाडका साथै सुर्योदय, हिमशृङ्खला र म्याग्दीका अधिकांश पहाडी भूगोलका साथै ग्रामिण बस्तिको अवलोकन गर्न सकिन्छ ।’
गाउँका अग्रज र जेष्ठ नागरिकको भनाइका अधारमा पुतलीडाडाँको बिषयमा थप अध्ययन अनुसन्धानका साथै सम्भावनाको उजागर र प्रवर्द्धनमा जुटेको स्थानीय अगुवा भिमप्रसाद छन्त्यालले बताए।
खानी खन्ने परम्परागत पेशा भएका छन्त्याल समुदायको बाहूल्य बसोबास रहेको मल्कबाङका किसानले पुतलीडाडाँ क्षेत्र भएर बर्खायाममा धौलागिरि हिमालको फेदी र रिग बुकी क्षेत्रमा भेडाबाख्रा तथा गाईभैंसीको घुम्ती गोठ लैजाने चलन रहेको छ ।
बर्खामा लेकतिर लैजाने घुम्तिगोठ हिउँदयाममा बेशीमा झार्ने गरिन्छ । स्थानीय कृषक बलबहादुर बिकले पुतलीडाँडा, चेमली, भाङ्गे हुँदै धौलागिरि आधार शिविर र मुस्ताङ पनि जान सकिने बताए। दृष्यका साथै घोरल, नाउर, घोरललगायत जन्यजन्तुको पनि अवलोकन गर्न सकिने यो क्षेत्र बसन्तयाममा लालीगुराँस फुलेर रङ्गिन बन्ने गर्छ ।
पुतलीडाडाँदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, सिस्ने, चुरेन हिमालको नजिकबाट अवलोकन गर्न सकिन्छ । गुर्जा र धौलागिरि हिमालको आधार शिविर तथा चुरेन हिमालको आइसफलको मनमोहक दृष्य थप आकर्षण हो ।
पुतलीडाडा पुग्न कठिन भएपनि त्यहाँ पुगेपछि दृष्य र शान्त वातावरणले समय बितेको पत्तै नहुने आन्तरिक पर्यटक भिम सापकोटाले अनुभव सुनाए। अर्का आन्तरिक पर्यटक रुपक गिरिले म्याग्दीको धेरै पहाड, बस्ति र पृष्ठभूमिको अवलोकन गर्न पाउँदा उकालो यात्राको थकान भुलेको प्रतिक्रिया दिए।
धवलागिरी गाउँपालिका–५ को वडा सचिवको जिम्मेवारी सम्हालेका सवइञ्जिनियर सुर्यप्रसाद पोखरेलले विस्तृत परियोजना प्रतिवेदन तयार पारेर क्रमागत रूपमा पूर्वाधार निर्माणका कामलाई अघि बढाउन आवश्यक रहेको बताए। भेडाबाख्रा र मानिस मात्रै हिड्ने पदमार्गलाई स्तरोन्नति गर्नुका साथै विभिन्न ठाउँमा आश्रयस्थल र खानेपानीको सुविधा आवश्यक देखिएको उनले बताए।
बस्तिदेखि टाढा रहेको पुतलीडाडा जाने पाहुनाहरु मयालेमा रहेको गोठ स्टेमा बास बस्ने गर्छन् । मयालेका बलबहादुर रोकाले गोठमा पाहुनालाई खाने बस्ने ब्यवस्था मिलाउने गरेका छन् । प्रचारप्रसारको अभावमा सुन्दर र रमणीय पुतलीडाडाँको सौन्दर्य स्थानीय स्तरमै सिमति रहेको रोकाको गुनासो छ ।




















