काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्याउने लक्ष्य रहेको बताएका छन् ।
आज मन्त्रालयमा खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीप श्रेष्ठ लगायतको टोलीसँग छलफल गर्दै मन्त्री यादवले संस्थानले खानेपानीका क्षेत्रमा गरिरहेका कामका विषयमा जानकारी लिएका थिए ।
उक्त छलफलका क्रममा उनले बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ ।
उनले भने, ‘अहिले हामीले मुलुकमा ९८ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी सेवा पुर्याएका छौँ । एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्याउने लक्ष्य छ ।’
सो छलफलमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य, मन्त्रालयका सहसचिव रामबाबु पुरी, रमाकान्त दुवाडी, खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठ, इञ्जिनियरिङ महाशाखा प्रमुख निरन महर्जनलगायतको सहभागिता रहेको थियो ।