काठमाडौँ । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा शनिबारदेखि एकैसाथ जलपन्छी गणनाको काम गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिबारदेखि जलपन्छी गणनाको काम गरिँदै आइएको छ ।
जनवरी ४ तारिखदेखि १९ सम्म (२० पुसदेखि ६ माघसम्म) जलपन्छीको संख्या, प्रजाती, बासस्थानको अवस्थाबारे जानकारी लिन गणनाको काम हुन लागेको नेपाल पन्छीविद् संघका वरिष्ठ चराविद् तथा वेटल्याण्ड्स इन्टरनेसनल नेपालका लागि जलपन्छी गणना संयोजक लक्ष्मणप्रसाद पौड्यालले बताए । उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क संकलन गरिनेछ ।
गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौं, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपन्छी गणना कार्य गरिएको थियो । ‘यस वर्ष पनि यी क्षेत्रलाई निरन्तरता दिइने लक्ष्य राखेका छौँ,’ उनले भने, ‘गोक्यो, गोसाइँकुण्ड, माईपोखरी, फोक्सण्डो तालजस्ता हिमाली क्षेत्रका तालमा भने अझै नियमित गणनाको काम हुन सकेको छैन, यी ताल र अन्य सम्भावित सिमसार क्षेत्रमा चरा अवलोकनमा जानेको विवरण माग गरेका छौँ, इच्छुक जो सुकैले जान सक्छन् ।’
विगतका वर्षझैँ यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौं उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपन्छी गणनाको काम गरिने उनले बताए । भारतीय महाद्वीपमा एसियाली जलपन्छी गणनाको काम सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेसनलले सुरु गरेको हो । यो काम सुरुमा एसियाको अफगानिस्तान, जापान, दक्षिण एसिया र अष्ट्रेलियामा गरिएको थियो ।
सन् १९८७ देखि नै नेपालमा पनि एसियाली जलपन्छी गणनाको काम नियमित रूपमा हुँदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साइट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यसपछि गणनाको काम निरन्तर जारी रहेको छ । ‘जलपन्छी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ,’ संयोजक पौड्यालले भने, ‘यो गणनाको मुख्य उद्देश्य पानीमा आश्रित बसाइँसराइ गर्ने, पानीमा र त्यसको वरिपरि बस्ने चराको संख्या र वितरणको बारेमा जानकारी सङ्कलन गर्नु रहेको छ ।’
यो कामबाट सिमसार क्षेत्रको अवस्था, जलपन्छीको प्रजनन्को अवस्था र जलवायु परिवर्तनको अवस्थाबारे जानकारी पाउन सकिने उनी बताउँछन् । जलपन्छी गणना सिमसारको स्वास्थ्य मूल्याङ्कन, जलवायु परिवर्तनको अवस्था बुझ्न, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण रहेको उनको भनाइ छ । यसले रामसार महासन्धी, प्रवासी प्रजातीसम्बन्धी महासन्धि, जैविक विविधताको महत्त्वपूर्ण पन्छी क्षेत्र कार्यक्रम, आइसियुएन रेड लिष्ट कार्यक्रम र वेटल्याण्ड्स इन्टरनेसनलको जलपन्छी संख्या अनुमान कार्यक्रमजस्ता विभिन्न अन्तर्राष्ट्रिय सन्धि तथा अभियानको कार्यान्वयनमा पनि सहयोग पुर्याउने उनको बुझाइ छ ।
गत वर्ष सन् २०२४ मा गरिएको जलपन्छी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ८४ वटा साना क्षेत्रमा चार सय दुई जना स्वयंसेवकले ७९ प्रजातीका ६३ हजार नौ सय जलपन्छी रेकर्ड गरेका थिए । यीमध्ये छवटा रामसारमा सूचिकृत सिमसार क्षेत्र पनि थिए । वरिष्ठ पन्छीविद् पौड्यालका अनुसार यस वर्षको गणना प्रारम्भीक नतिजा आगामी २ फ्रेवुअरी २०२५ मा विश्व सिमसार दिवसका अवसरमा सार्वजनिक गरिने छ ।
विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ गते देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने छ । गत विगत वर्षको तथ्याङ्कको तुलनात्मक अध्ययनबाट जलपन्छीको संख्या, विवरण र सिमसारको अवस्थाबारे महत्त्वपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । स्थानीय रूपमा जलपन्छी गणनाको काम गर्न स्वयंसेवकका रूपमा देशभर २४ जनालाई साइट–कोअर्डिनेटरका रूपमा खटाइएको छ ।
उत्तरी धुव्र रुस, चिन, मङ्गोलियालगायतका अत्यधिक चिसो हुने क्षेत्रबाट हजारौँको संख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालका विभिन्न ताल, तलैया, नदी र वनजंगल क्षेत्रमा आउने गर्दछन् । उत्तरी ध्रुवमा हिउँ परेर तापक्रम निकै चिसो हुने भएकाले चरा बाँच्नका लागि अनुकूल तापक्रमको खोजीमा नेपालमा आउने गर्दछन् । यहाँका ताल तलैया, नदीमा माछा, किरा-फटयाङ्ग्राजस्ता खानेकुरा प्रचुर मात्रामा पाइने र विभिन्न संरक्षित क्षेत्रमा शिकारीबाट बच्ने कामसँगै सुरक्षित बासस्थान उपलब्ध हुने भएकाले चराका लागि अनुकूल वातावरण रहने गर्दछ ।
नेपालमा हिउँदमा बसाइँसराइ गरी आउने जलपन्छीमा हाँसका विभिन्न प्रजाती, जलेवा, गङ्गाचीललगायत रहने गर्दछन् । (रासस)