काठमाडौं । काठमाडौंका छुट्टाछुट्टै स्थानमा शनिबार तीनजना मृतावस्थामा भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, गोकर्णेश्वर–१, सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बुका ५२ वर्षीय नरबहादुर राई मृत फेला परेका छन् ।
यस्तै, टोखा नगरपालिका–१०, खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरीको धरान उपमहानगरपालिकाका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसलअगाडि मृत फेला परेका छन् ।
दक्षिणकाली नगरपालिका–६ स्थित दक्षिणकाली सांस्कृतिक क्षेत्र सुधार समितिको जंगलको पानीट्यांकीनजिक खोल्सामा शनिबार बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ ।
अन्दाजी ६० वर्षीय ती पुरुषको पहिचान खुलेको छैन । तीनै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । (रासस)