काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सहकारी संस्थाको बचत रकम दुरुपयोग गर्ने पीडकको पक्षमा पक्षमा भएको रास्वपाको सडक प्रदर्शन अपराधिक र दण्डनीय भएको जनाएको छ । जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनताको अरबौं रकम लुट्ने ठगहरुको पक्षपोषण हुने गरी भीड, उत्तेजना र अराजकता प्रदर्शन गर्ने रास्वपा कार्यको निन्दा गरेका हुन् ।
बस्नेतले भने, ‘यो मुलुकमा छताछुल्ल रुपमा सतहमा आइसकेका भ्रष्टाचार, ठगीलगायतका अनेकौं काण्डहरु लुकाउने गरिएको छ, सामसुम पारिएको छ । रास्वपा अन्य काण्डजस्तै आफ्नो सभापति जोडिएको सहकारीको मुद्दालाई राफसाफ पार्न चाहन्छ ।’ सडकमा भइरहेका अवाञ्छित गतिविधि अन्ततोगत्वा उसैलाई प्रत्युपादक हुने उनको तर्क रहेको छ ।
राज्य संयन्त्रकै लापरबाही र सरकारको उदासीनताले नै सहकारी संकट आज यो अवस्थामा पुगेको बताउँदै सहकारी रकम दुरुपयोगको विषयमा निष्पक्षरुपमा छानबिन गरी दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिन सरकारले कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ ।