काठमाडौं । नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडामा काठमाडौंको फोहोरको मात्रा बढेको छ। काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौंका नदीमा बाढीले ल्याएको फोहोर पनि बञ्चरेडाँडामा विसर्जन गर्नुपरेको हो।
यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जनमा २०० गाडी प्रयोग हुँदै आएकोमा गत असोज १२ को वर्षापछि दैनिक ३०० गाडी उपयोग हुँदै आएका छन्। हाल दैनिक रूपमा एक हजार ६०० मेट्रिक टन फोहर व्यवस्थापन भइरहेको छ ।
साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहोर व्यवस्थापन बञ्चरेडाँडालाई गरिँदै आएको छ। ‘स्रोतमा नै फोहर पुनः प्रयोग गर्न सकिने फोहर पनि बञ्चरेडाँडामै पुगेको छ। कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ। उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर बञ्चरेडाँडामा नै लगिएको छ। यसलाई रोक्न सके मात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिन्छ’, वातावरण प्रमुख सरिता राईले भनिन् । (रासस)