काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव सुशील शमशेर जबराको आज निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।
राणाको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राखेपको प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए । उनका अनुसार, श्रद्धाञ्जली अर्पण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरू प्रेमबहादुर मल्ल, सरोज पोखरेलसहित कर्मचाहरूको उपस्थिति थियो ।
राखेपको दोस्रो सदस्यसचिवका रूपमा राणाले ६ वर्षसम्म नेपाली खेलकुदका क्षेत्रमा योगदान पुर्याएका थिए । विसं २०१७ देखि विसं २०२४ सम्म राणा परिषद्को सदस्यसचिव थिए ।
नेपाल ब्याडमिन्टन संघको सस्थापक अध्यक्षसमेत रहेका राणा हाल आजीवन मानार्थ अध्यक्षको रूपमा रहेको संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए । (रासस)