कोलम्बो । आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मङ्गलबार देशको अपेक्षित संसदीय चुनाव अगावै आफ्नो मन्त्रीमण्डल गठन गरेका छन् ।
पिपुल्स लिबरेसन फ्रन्ट (जेभीपी) का स्व–स्वीकृत मार्क्सवादी दिसानायकाले सप्ताहन्तमा भएको राष्ट्रपति चुनावमा ठूलो जीत हासिल गरेपछि सोमबार पदभार ग्रहण गरेका छन् ।
श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा हाल उनको पार्टीको तर्फबाट जम्मा तीन जना सांसद छन् । तर सन् २०२२ को आर्थिक मन्दीले लाखौं साधारण श्रीलङ्कालीलाई प्रभावित पारेको र आइएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उनीप्रतिको समर्थन बढेको थियो।
उनको कार्यालयले मङ्गलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त गरेको घोषणा गरेको छ ।
चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित भएका अमरसुरिया लैङ्गिक समानता र अल्पसङ्ख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित छन् ।
उनी र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नेछन् र संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नेछन् ।“हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुनेछ”, पार्टीका सदस्य नमल करुणारत्नेले मङ्गलबार सञ्चारकर्मीलाई बताए, “त्यसपछि संसद विघटन हुनेछ । यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ ।”
श्रीलङ्काको सङ्कट दिसानायकेका लागि एउटा अवसर साबित भएको छ । उनी ३८ अन्य उम्मेदवारलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन् ।
अन्तर्राष्ट्रिय मुद्राकोष(आइएमएफ)ले सोमबार दिसानायकेलाई बधाई दिँदै उद्धार कार्यक्रमबारे छलफल गर्न तयार रहेको बताएको छ ।
“श्रीलङ्कालाई आर्थिक पुनरुत्थानको मार्गमा लैजान सहयोग गरेको कठोर परिश्रमबाट हासिल गरिएका उपलब्धिहरूलाई अगाडि बढाउने दिशामा हामी राष्ट्रपति दिसानायकासँग मिलेर काम गर्न तयार छौँ”, वासिङ्टनस्थित आइएमएफका एक प्रवक्ताले बताए । (रासस)