काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना परी घाइते भएका १२ जना उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट काठमाडौँ ल्याइएको उनीहरुको उपचार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भइरहेको बताइएको छ ।
एक जना घाइतेलाई चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी) लगिएको प्रहरीले जनाएको छ ।
भारतको गोरखपुरबाट नेपाल आएका उनीहरू पोखरा हुँदै काठमाडौँ आउने क्रममा तनहुँको आँबुखैरेनीमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।