काठमाडौं । सशस्त्र प्रहरी बलका एसपी वीरसिंह साहुको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले छानबिन गरिरहेको बेला साहुले डेढ महिनाअघि मात्र राजीनामा दिएका थिए ।
साहूले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बीए तह उत्तीर्ण गरेको भनिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ ।
साहुले सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति भइ लाभ, सुविधा लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारको दावी छ ।
वीर सिंह शाह भन्ने बिर सिंह शाहुलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायँ हुन मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।