भक्तपुर । गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गएपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ ।
आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाए पनि प्रहरीले तत्काल आगो निभाएकाले ध्वस्त हुन पाएन । तर सो क्षेत्रको अवस्था तनावपूर्ण बनेपछि सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेकाले बेला ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासी ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको स्थानीयले बताएका छन् ।
ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासी ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ ।
चेकजाँचमा संलग्न ट्राफिकहरूलाई प्रहरीले सुरक्षा दिएर त्यहाँबाट भगाएको स्थानीयले बताएका छन् ।
दुर्घटना स्थलमा तनाव भएकाले प्रहरीले थप प्रक्रिया सुरु गर्न नसकेको र मृतकको सनाखत भइनसकेको भक्तपुरका प्रहरीले जनाएको छ ।