ढाका । अन्तरिम सरकारका गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (अवकाश) एम सखावत हुसेनले हालै सत्ताच्युत अवामी लिगलाई प्रतिक्रान्तिको प्रयास र अराजकता सिर्जना गर्ने प्रयास नगर्न कडा चेतावनी दिएका छन् ।
भर्खरै विद्यार्थी आन्दोलनका क्रममा घाइते भएका अन्सारका सदस्यहरुको ढाकास्थित संयुक्त सैनिक अस्पतालमा उपचार भैरहेको अवस्थामा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘अव्यवस्था सिर्जना गर्ने प्रयास नगर्नुहोस्, परिणाम अनुकूल हुनेछैन,’ उनले भने । अवामी लिगलाई पार्टीको रूपमा पुनर्गठन गर्न चाहेमा कुनै समस्या नभएको उल्लेख गर्दै चेतावनी दिए ।
सल्लाहकारले देशमा अवामी लिगको महत्त्वपूर्ण योगदानलाई स्वीकार गरे र यसलाई पुनर्गठन गर्न स्वतन्त्र रहेको बताए तर यदि यसले प्रतिक्रान्तिको सपना देख्यो भने यसले ठूलो मात्रामा रक्तपात निम्त्याउने उनको चेतावनी थियो ।
‘हामी भाग्न सक्छौं, तर यो पुस्ता वा विद्यार्थी जनसंख्या भाग्नेछैन,’ उनले भने । सखावतले आन्दोलनका क्रममा भएका मानवीय क्षति र घाइतेको भत्र्सना गर्दै घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय सहयोग लिइने उल्लेख गरे ।
साथै उनले लुटेका हतियार सोमबारसम्म प्रहरीलाई फिर्ता गरिसक्ने बताए । उनले अगस्त १९ पछि यस्ता हतियार फेला परेमा कडा कारबाही गरिने चेतावनी दिए ।