काठमाडौं । नेपाल भ्रमणका रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् ।
दुई दिने नेपाल भ्रमणमा रहेका सचिव मिस्रीले उपप्रधानमन्त्री सिंहसँग सोमबार विहान शहरी विकास मन्त्रालयमा भेट गरेका थिए । भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिएका थिए ।
भेटमा शहरी विकास, फोहोर मैला व्यवस्थापन, बाग्मती, विष्णुमतिलगायतका नदिको स्वच्छता र सफाईलगायतका नेपाल भारतबिच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गंगा नदि सफाईको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए ।
त्यस्तै, उनले नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै नेपालले महाकाली नदिमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको पनि बताए ।
भेटमा नेपालको पूर्वाधार विकास,भुकम्प र कोभिडको समयमा भारतले गरेको सहयोगका लागि उपप्रधामन्त्री सिंहले धन्यवाद दिएका थिए । ‘नेपालको शहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो,’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले तुइनलाई विस्थापित गर्ने अभियाननै चलाएका छौं । सिमा नदिमा झोलुंगे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्यो सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुराहरु राख्यौं । उहाँहरु त्यसमा सकारात्मक हुनुभयो ।’
भारतको इन्दोर लगायतका केही शहरमा स्वच्छ भारत अभियान अन्तर्गत भइरहेको फोहोरमैला व्यवस्थापन र गंगा नदि सफाईको अनुभव र प्रविधि आदानप्रदानमा सहकार्यबारे पनि भेटमा सकारात्मक छलफल भएको थियो । भारतका विदेश सचिव मिश्रीले नेपालको शान्ति,स्थायीत्व र समृद्धिका लागि भारतको सँधै साथ सहयोग रहने बताए ।