काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको सम्बन्धमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
संसदीय समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी, मन्त्रालयका सचिव डा। गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतसँग छलफल गरेको थियो ।
पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीरता पूर्वक ध्यान दिने बताएका छन् ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा सहभागी मन्त्री पाण्डेले पछिल्लो समय भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीर बनाएको बताएका छन् ।
आफूसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको टोलीले आज दुर्घटनास्थलको अवलोकन गरेको जानकारी दिँदै मन्त्री पाण्डेले मौसम अनुकूल नभएर पुनः काठमाडौं फर्कन खोज्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको बताएका छन् ।
दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले बुधबार नै नेपाली सेनाका वरिष्ठ क्याप्टेन सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको जानकारी दिँदै मन्त्री पाण्डेले आयोगले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरेका छन् ।
समग्र उड्डयन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माणको तयारी गरिरहेको जानकारी दिँदै मन्त्री पाण्डेले हवाई सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने बताएका छन् ।
प्राधिकरणका महानिर्देशका प्रदीप अधिकारीले मौसम खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिएका छन् ।
हवाई दुर्घटनाको विषयमा नियामक निकायको कमजोरी देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ९डीजी० प्रदीप अधिकारीलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने माग संसदीय समितिको उठेको हो ।
समितिमा बोल्दै प्रेम सुवालले नेपालमा पुराना जहाज र हेलिकप्टरको कारणले पनि दुर्घटना वृद्धि भएकाले यो बन्द गुर्नपर्ने बताएका छन् ।
समितिको बैठकले १५ दिनभित्र विज्ञहरुबाट छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको लागि सिफारिस गर्न समेत निर्देशन दिएको हो ।




















