काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटना स्थल पुगेका छन् ।
बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने बित्तिकै दाहिने मोड्ने क्रममा विमान दुर्घटनाग्रस्त हुदा १८ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री ओलीले दुर्घटना स्थलको निरीक्षण गर्दै गृहमन्त्री, नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग दुर्घटना बारे जानकारी लिएका छन् ।
दुर्घटनामा घाइते भएका विमानका पाइलट मनिष रत्न शाक्यको भने अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
यसैवीच प्रधानमन्त्री ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सबैलाई धैर्य रहन अनुरोध गरेका छन् । उनले फेसवुकमा लेखेका छन् – “नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।”