
काठमाडौं । नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस र काठमाडौंबाट गएको कार ठोक्किँदा २० जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
कार कच्याककुचुक भएको छ भने बस त्रिशुली नदी किनारमा खसेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किएका थिए ।
टाउकोमा गम्भीर चोट लागेका कार चालक पोखरा महानगरपालिका ५ का ३५ वर्षीय समिर ओझा र टाउकोमा नै चोट लागेका सोही कारमा सवार काठमाडौंको टोखा नगरपालिका ६ टोखाका २२ वर्षीय शेखर मिश्रको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बस चालक कोहलपुर–१२, बाँकेका ३५ वर्षीय विकास मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते यात्रुहरुलाई विभन्न अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा मेडिकल टिमसहित ३५ जनाको सुरक्षा फौज घटनास्थलमा पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
दुर्घटनाग्रस्त कार सडक किनारमै रहेको र त्रिशूली किनारमा खसेको बसलाई तान्ने काम भइरहेको बताइएको छ ।


























