काठमाडौँ । वैशाख १५ गते हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा सत्तारुढ नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई सघाउने भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार इलाम २ मा सुहाङ नेम्वाङ दुई दलका साझा उम्मेदवार हुने भएका छन् ।
माओवादीबाट इलामबाट उम्मेदवारका रुपमा एकल सिफारिस भएका नेता धिरेन्द्र शर्मा रमणले एमालेलाई सघाउने निर्णय भएको बताउँदै सहाङलाई जिताउन जुटिसकेका बताएका छन् ।
शर्माका अनुसार माओवादीले इलाम २ छाडेर बझाङ १ को प्रदेश सभा १ लिने सहमति केन्द्रमा भएको बताइएको छ ।
इलाम २ मा माओवादीले २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा मानुपातिक तर्फ ५ हजार १ सय ५३ मत ल्याएको थियो ।
यो क्षेत्रमा २०७९ को निर्वाचन जितेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएको थियो । सो क्षेत्रको उपनिर्वाचनका लागि एमालेले सुवासका पुत्र सुहाङलाई मैदानमा उतारेको हो । उपनिर्वाचनका लागि निर्वाचन आयोगले आगामी चैत २४ गते उम्मेदवारी दर्ताको तोकेको छ ।