काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई निस्कासन गरेको छ । नाउपाकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले उनलाई निष्कासन गरेकी हुन ।
तामाङलाई हिजो पार्टी कार्यालयमा भएको कुटपिटमा संलग्न भएको आरोपमा निष्कासित गरिएको अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तामाङ नाउपाका संस्थापक नेता रेशमलाल चौधरी निकट हुन ।
नाउपामा रेशम र उनकी पत्नीसमेत रहेकी अध्यक्ष रञ्जिताबीच तीव्र मतभेद छ । सोमबार काठमाडौँको अनामनगरस्थित पार्टी कार्यालयमा बसेको नाउपा केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेतामाथि कुटपिट भएको थियो ।
‘चैत १९ गते पार्टीका संस्थापक केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको अवस्थामा तपाई (दीपबहादुर योञ्जन तामाङ) समेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरु रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरि कुटपिटसमेत गरेको हुँदा पार्टीको विधान अनुसार तपाईलाई आजकै मितिदेखि लागू हुनेगरी पार्टीबाट पदमुक्त गरि निस्कासन गरिएको छ,’ श्रेष्ठले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सुदूरपश्चिममा नेपाली कांग्रेसको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम पक्ष छ भने मुख्यमन्त्री लिएर नयाँ गठबन्धनबाट अघि बढ्नुपर्ने पक्षमा रञ्जिता पक्ष रहेको छ । उनीहरुबीचको सो विवादका कारण नाउपा फुटको संघारमा पुगेको छ । रेशमले आफूले तीन महिनादेखि राम्रोसँग खाना पनि नखाएको र आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्याएको गुनासो गरेका छन् ।