काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसद अवरुद्ध गरेको छ । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग दोहोर्याउँदै कांग्रेसले आज पनि संसद वैठक अवरुद्ध गरेको हो ।
वैठक सुरू हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने दोहोर्याएका छन् ।
छानबिन भइरहेको व्यक्तिलाई नै गृहमन्त्रीको कुर्सीमा राखिराख्नु प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको गौतमले आरोप लगाएका छन् ।
तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी घोटलामा छानबिन गर्ने र दोषी उम्किन नदिने प्रतिवद्धता जनाएको वताउँदै सांसद गौतमले सरकार फेरिए पनि परिस्थिति फेरिन नहुने बताएका छन् ।
सांसद गौतमले गोरखा मिडिया प्रालिमा जम्मा भएको सहकारीको करोडौं बचत कसरी, कहिले फिर्ता हुने हो भन्ने प्रश्न गर्दै रामशरण महत, गोकुल बास्कोटा, कृष्णबहादुर महरा, जनार्दन शर्माले जस्तो लामिछानेले पनि नैतिकता देखाएर सहज बनाइदिनुपर्ने बताएका छन् ।
सांसद गौतमले प्रधानमन्त्रीले ठूलो माछा च्यापेर सानालाई मात्र कारबाही गरेको पनि बताएका छन् । जनताको निराशालाई आशा बदल्ने आफूहरू सदनको महत्व बुझेर जिम्मेवार भए पनि सरकार र मन्त्रीले पनि जिम्मेवार भूमिकाका साथ नैतिकता प्रदर्शन गर्नुपर्ने सांसद गौतमले बताएका छन् ।




















