चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताएका छन् ।
भरतपुर महानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उनले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने उनले बताए।
संविधानले राष्ट्रियसभालाई दिएको अधिकार र दायराबारे आम जनमानसमा जानकारी गराउन आफ्नो कार्यकाल फलदायी हुने विश्वास उनले व्यक्त गरे। राष्ट्रियसभालाई अहिले प्रतिनिधिसभाको छायाँका रुपमा लिने गरिएको भन्दै उनले त्यस्तो नभएको बताए।
अहिलेको संविधान कार्यान्वयनका लागि धेरै कानुनहरू बन्न आवश्यक रहेको बताउँदै उनले ती कानुन बनाउन सरकारलाई झकझक्याउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। भरतपुर महानगरपालिकाले गरेको विकासको प्रशंसा गर्दै उनले समग्र चितवनको विकासमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताए ।




















