काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन् ।
सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने नभए एक्लै चुनाव लड्ने बताए ।
उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उम्मेदवार खडा गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे ।
सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र आफूबीच भएको छलफलका क्रममा पनि उपनिर्वाचनमा उम्मेदवार उठाउने जानकारी गराएको बताए ।
त्यस्तै अध्यक्ष नेपालले राजनीतिक स्थायित्व, गलत प्रवृत्ति, संविधानको रक्षा गर्ने काममा पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले नेपालका सबै कम्युनिस्टहरू एकताबद्ध हुनुपर्ने भए पनि त्यसका लागि परिस्थिति अनुकूल बन्नुपर्ने जिकिर गरे ।
चैत्र ४ गते सम्पन्न भएको १० औँ जिल्ला अधिवेशनबाट वसुन्धरा हुमागाईँको अध्यक्षतामा गठित ५८ जिल्ला कमिटी सदस्यहरूलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका थिए । सो क्रममा उनले बफादार भएर पार्टीको लोकप्रियताका लागि काम निर्देशन समेत दिएका थिए ।




















