काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनुहार, पद, प्रतिष्ठा हेरेर नभइ प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही अघि बढाउन पनि प्रहरीलाई आग्रह गरे ।
नेपाल प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै घटनाका प्रतिवादी आदेशका आधारमा नभइ प्रमाणका आधारमा बनाउन पनि उनले निर्देशन दिए ।
उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे । निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालयको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए ।
उनले सङ्गठन निर्माण र उच्च छवि बनाउन योगदान दिनुहुने सम्पूर्ण पूर्वप्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूप्रति सम्मान समेत प्रकट गरे ।




















