काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विश्वासको मतका साथै राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन ह्विप जारी गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा शनिबार बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन आफ्ना दलका सदस्यहरूलाई ह्विप जारी गर्ने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्रीले विश्वासको मत लिने मिति र राष्ट्रिय सभा अध्यक्ष उम्मेदवारका बारेमा आइतबारसम्म टुंगो लाग्ने उनले बताए। बैठकमा संसदको कार्यतालिकालाई प्रभावकारी बनाउने विषय र आगामी बजेटको सिद्धान्त र प्राथमिकताको छलफलका विषयमा पनि छलफल भएको पाण्डेले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई अघि बढाउनका लागि दृढताका साथ लाग्नुपर्नेमा जोड दिएका प्रमुख सचेतक पाण्डेले बताए ।




















