धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कमलबहादुर शाह नेतृत्वको सरकार आजै छोड्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छन्।
पार्टी अध्यक्षसँग कुनै सरसल्लाह नै नगरी शुक्रबार मध्यराति सरकारमा किन गएको भन्दै पार्टी अध्यक्ष चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोडन निर्देशन दिएकी हुन्।
शनिबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिएको बताइन् ।
उनले सरकारमा जाने नजाने बारेमा पार्टी अध्यक्षसँग कुनै छलफल नै नगरिएको बताइन् ।
नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यमध्ये शुक्रबारको सरकार विस्तारपछि ३ जना मन्त्री र १ जना राज्यमन्त्री भएका छन् ।
शुक्रबार मध्य राति मुख्यमन्त्री शाहले उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, रञ्जिताको नजिक मानिएका खुसीराम चौधरीलाई विना विभागीय मन्त्री र ईन्द्रा गिरिलाई भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए। उन्मुक्तिका रामेश्वर चौधरीसहित अहिले ४ जना सरकारमा गएका छन् ।
उनले आफ्नो पार्टी नयाँ गठबन्धनमै रहेको बताइन् । अहिले नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जीताबीच सरकारमा जाने वा नजानेबारे विवाद देखिएको छ।




















