काठमाडौं । केन्द्रमा नेकपा एमाले, माओवादी र रास्वपासमेतको गठबन्धन बनेर सत्ता साझेदारी बने पनि इलाम क्षेत्र नम्बर २ को उपचुनावमा एमालेलाई नसघाउने रास्वपा सभापति रवि लामिछानेले घोषणा गरेका छन् ।
आगामी बैशाख १५ गते हुने उपचुनावलाई लिएर सत्ता गठबन्धनमा बेमेल देखिएको छ ।
नेपाली कांग्रेसको साथ छाडेर नयाँ गठबन्धन सरकार बनेपछि इलाम २ को उपनिर्वाचनको सन्तुलन पनि फेरिएको छ । फागुन २३ गतेदेखि संघमा नयाँ पाँचदलीय सरकार बनेको छ । तर, इलाम २ को उपचुनावमा एक्लाएक्लै लड्ने सत्तारुढ दलहरुको तयारी छ ।
एमाले नेता सुवास नेम्वाङको निधनका कारण आगामी वैशाख १५ मा हुन लागेको उपनिर्वाचनमा नयाँ सत्ता गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार उठाउने सहमति गरेको केही नेताहरुको दाबी छ । संघमा एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी र जसपाको गठबन्धन बने पनि इलामको उपनिर्वाचनमा भने आ–आफ्नै उम्मेदवार उठाउने तयारी छ ।
रास्वपा सभापति रवि लामिछानेले नयाँ सरकारको गृहकार्य भएको दिन नै इलामको उपचुनावबारे स्पष्ट हुनुपर्ने बताएका थिए । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यो विषयमा दलको स्वतन्त्रता हुनुपर्ने मत राखेका थिए ।




















