काठमाडौं । नेपाली कांग्रेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा भएका सहमतिलाई तोडेर एकतर्फीरुपमा गठबन्धन तोडेको ठहर गरेको छ ।
मन्त्रिपरिषद् पुनर्गठनपछि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मुलुकको दिगो शान्तिका लागि गरिएको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले कांग्रेसको मात्रै नभइ लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध कुठाराघात गरेको आरोप लगाए ।
कांग्रेस नेता लेखकले गठबन्धनका नाममा प्रधानमन्त्री प्रचण्ड आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाए ।
उनले भने,’जनताको जनमतको अपमान गर्दै कपोकल्पित कथा बुनेर,सानातिना मुद्दा उठाएर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र अविश्वसनीय काम गरेकाले यसलाई हामीले भन्नैपर्छ राजनीतिक बेइमानी हो।’
प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन भत्काएर एमाले नेतृत्वमा नयाँ गठबन्धन बनाएका छन्। प्रचण्डले गठबन्धन तोडेपछि कांग्रेसले समर्थन फिर्ता लिएको छ। आज बसेको संसदीय दलको बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
गठबन्धन तोडेर प्रचण्डले राजनीतिक बेइमानी गरेको कांग्रेसको ठहर छ ।




















