काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको आज बसेको वैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक बेइमानी गरेको ठहर गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सहितको गठवन्धन बलेर एमाले सहितको गठवन्धन बनाउँदै मन्त्रिपरिषद पुनर्गठन गरेपछि बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय गरेको छ ।
संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमन्त्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेर राजनैतिक बेमाइनी गरेको ठहर वैठकले गरेको प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
प्रधानमन्त्री पुपष्कमल दाहालले कांग्रेसलाई विवासघात गरेका बताउँदै लेखकले भनेका छन्, ‘हामीले गठबन्धनको संस्कृति, मूल्यमान्यता र सम्पूर्ण सहमतिलाई पालना गरिराखेकै अवस्थामा अविश्वनीय ढंगले गठबन्धन भत्काउने जुन काम गर्नुभयो, यो कुनै हिसाबले राजनैतिक इमान्दारी हुन सक्दैन ।’
गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको आरोप लगाउँदै कांग्रेसले संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ ।




















