काठमाडौं । केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएसँगै बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ ।
साथै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।
बागमतीमा लामासहित रामकृष्ण चित्रकारउद्योग वाणिज्य भूमि तथा प्रशासन, तीर्थ लामा खानेपानी तथा सिँचाइ , स्वास्थ्यमा उत्तम जोशी, वन तथा वातावरणमा मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जन छन् ।
बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।
१२ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा कांग्रेसले ६, माओवादीले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्रालय भागबण्डा गरेर सरकार बनाएका थिए ।




















