काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएको छ । जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र बुढाले सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।
जोशी बझाङबाट निर्वाचित सांसद हुन भने बुढा डोल्पाबाट निर्वाचित सांसद हुन् ।
यसअघि बुधबार दिउँसो बसेको समाजवादी सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेपछि विभिन्न पाँच शर्त अघि सारेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधव नेपालबीचको वार्ता पछि सरकारमा जान नेकपा एस तयार भएको हो ।
नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन सरकारमा समाजवादीले २ मन्त्री र १ राज्यमन्त्री पाएको थियो ।
सोमवार पुरानो गठवन्धन तोगेर नयाँ गठवन्धन बनाएपछि मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोटेश्वरमा पुगेर समाजवादी अध्यक्ष नेपालसँग २ घण्टा वार्ता गरेका थिए ।
उक्त वार्तामा भएको सहमतिअनुसार समाजवादीले बुधबार सचिवालय बैठक राखेर नयाँ गठबन्धनमा सामेल हुँदै सरकारमा पनि जाने निर्णय लिएको हो ।




















