काठमाडौं । प्रभावशाली मन्त्रालय भागबन्डामा सत्तागठबन्धनमा सहमति जुट्न सकेको छैन ।
गठबन्धनको मंगलबार बसेको बैठकमा गृह र अर्थ मन्त्रालय कसले लिने भन्नेमा सहमति बन्न सकेन ।
मन्त्रालयमा सहमति नजुट्दै गठबन्धनलाई थप बलियो र फराकिलो बनाउने प्रयास भने सत्तागठबन्धनका नेताहरूले गरिरहेका छन्। त्यसैकारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उनकै निवास पुगेर भेटे, गठबन्धनमा सहकार्यको प्रस्ताव गरे ।
मन्त्रालय भागबन्डा नहुँदा सोमबार तीन जना मन्त्रीले मात्रै शपथ लिएका थिए । मंगलबारको छलफलमा गृह मन्त्रालयमा रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका नेता एवं निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले दाबी गरेका थिए ।
आफूलाई गृहमन्त्री बनाउन सहयोग माग्दै श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग पनि भेटघाट गरेका थिए।
नयाँ गृह मन्त्रालयमा अरूको पनि दाबी आएपछि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको चर्चा पनि चलाइएको छ ।
गृहमन्त्रीमा लामिछानेकै प्रबल सम्भावना छ । उता अर्थमन्त्री पनि अर्को आकर्षक मन्त्रालय हो। निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको असहमतिकै कारण कांग्रेससँगको गठबन्धन तोडेका प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय आफूले राख्ने दाबी गर्दै आएका छन् ।
गठबन्धनको सबैभन्दा ठूलो एमाले पनि एउटा आकर्षक मन्त्रालय राख्न चाहेको छ। उसको पनि अर्थ मन्त्रालयमा दाबी छ ।




















