काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन् ।
नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रश्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताएका हुन् । मंगलवार अपरान्ह डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्त समेत राखे ।
बुधवार (भोलि) बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौं भन्ने खाका प्रश्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिए । सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उनको अडान थियो । सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले सहमतीका साथ जानका लागि गरिएको प्रश्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताए ।
नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भईरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई संकटबाट जोगाउने आशा आफूहरुमा पलाएको समेत बताए ।




















