काठमाडौं । एमाले नेतृत्वमा नयाँ सत्ता समीकरण बनेसँगै चार राजनीतिक दलहरु मन्त्रालय बाँडफाँट र आन्तरिक गृहकार्यमा जुटेका छन् ।
चार दलबीच सोमबार साँझ ८ बुँदे सहमति भएपछि अन्य दललाई भित्र्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र लोसपा लगायतका दलसँग संवाद जारी राखेका छन्।
नयाँ सत्ता समीकरण बनेसँगै कुन दलले कुन मन्त्रालय बनाउने र को-को मन्त्री हुने खाँका तयार हुन बाँकी रहेको छ। मन्त्री हुन चाहने नेताहरुले आन्तरिक दौडधुप जारी राखेका छन्।
यसैबीच मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माओवादी केन्द्रका उपाध्यक्ष एवम् निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ बालकोट पुगेका छन् । भेटमा श्रेष्ठले गृहमन्त्रालयमा पुनः दोहोरिने इच्छा व्यक्त गरेको स्रोतले जनाएको छ ।




















