काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाएर नयाँ सानो मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।
नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक÷एक जना मन्त्री बन्दैछन् ।
माओवादीबाट वर्षमान पुन अर्थमन्त्री हुने स्रोतले बताएको छ भने एमालेबाट प्रमुख सचेतक पदम गिरीलाई मन्त्री बन्ने भएका छन् । नयाँ सत्ता समीकरण बनेसँगै एमालेले गिरीलाई सरकारमा पठाउन लागेको हो ।
गिरी अघिल्लो वर्ष पुस १० मा बनेको प्रचण्ड नेतृत्तवको सरकारमा छोटो समय स्वास्थ्यमन्त्री बनेका थिए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैँ सरकारमा सहभागी हुने भएका छन् । छलफल जारी रहेकाले कुन कुन मन्त्रालय भन्ने विषयमा भने टुंगो लाग्न बाँकी रहेको छ ।
रास्वपाबाट रवी लामिछाने गृहमन्त्री बन्ने स्रोतको दावी छ । सरकारमा सहभागिता र मन्त्रालयको टुंगोलगायतको निर्णय अधिकार सभापति लामिछानेलाई आज विहान बसेको सचिवालयले दिएको छ । लामिछानेलाई गृहमन्त्री दिन प्रधानमन्त्री प्रचण्ड सहमत भएको रास्वपा स्रोतको दावी छ ।
कांग्रेससँगको गठबन्धन भत्कने भएपछि सोमबार बिहानैबाट राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।




















