काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । प्रचण्डकै नेतृत्वको सरकारमा एमाले सहितका दलहरु सहभागी हुने भएका छन् ।
बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।
एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै आफ्नो पार्टीसहितको नयाँ गठबन्धनले मन्त्रिपरिषद् गठन गर्ने दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै। सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ ।’
सरकारमा जसपा, रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ । अन्य दलहरुलाई पनि सरकारमा ल्याउन पहल हुने बताइएको छ । सबै पार्टीहरुले सोमबार बिहानै आआफ्नो पार्टीमा छलफल गरेका छन् ।
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा गठवन्धनमा सहमति हुन नसकेपछि कांग्रेससँगको गठबन्धन भत्किने अवस्थामा पुगेको हो ।




















