काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोहन सी एक्यूलिनियोबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास-४ लगायत आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
२०८० फाल्गुण १२ गते नेपालको तीनदिने भ्रमणमा आएका उनलाई जङ्गी अड्डामा प्रधान सेनापतिले स्वागत गरेका थिए । उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
ग्लोबल पिस अप्रेसन इन्टेटिभ (गोपी)को सहयोगमा नेपाली सेना तथा अमेरिकी सेनाको सहकार्यमा यही फागुन ०८ देखि २ हप्ता अवधिको शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भइरहेको छ । उनले १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको फागुन १३ गते अवलोकन गरेका छन् ।