काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले पर्यटनमन्त्री सुदन किरातीलगायतका तीन जना मन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध पारिरहेका बेला सत्तारुढ दलकै सांसद पनि मन्त्री किराँतीको कार्यशैलीप्रति चर्को विरोध जनाएका छन् ।
आजको प्रतिनिधिसभा वैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाएका हुन् ।
६२ जना करारमा कर्मचारी भर्ना गरेर नेपाल एयरलाइन्सलाई आर्थिक वोझ थोपरेका मन्त्री किराँतीले नयाँ विमान किन्ने भन्दै १८ करोड कमिसनको खेलमा लागेको सांसद खतिवडाले आरोप लगाएका छन् ।
निगममा हाल १२ सय कर्मचारी स्थायी र आउट सोर्सिङ गरिएका झण्डै ८०० कर्मचारी रहेको वताउँदै सांसद खतिवडाले भने, ‘वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालादारीमा नियुक्त गरेर राखिएको छ । जसलाई हाजिर गरेर हिँडेपछि पुग्ने गरी नियुक्तिको व्यवस्था गरिएको छ ।’
मन्त्री खतिवडाले भने “निगम ४८ अर्बभन्दा धेरै ऋणमा डुबेको छ । आफूसँग भएको विमान नचलाउने अनि भाडामा लिने यो प्रवृत्तिले निगमलाई कहाँ पुर्याउने हो ?, मन्त्री नयाँ विमान भन्दै हुनुहुन्छ । झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएको छ ।”
नेपाल वायु सेवा निगमले गठन गरेको समितिले नै अहिले जहाज किन्न नसक्ने भनेको भन्दै सांसद खतिवडाले भने, ‘थ्री हन्ड्रेड जी भन्ने प्लेन ल्याइँदैछ जुन अहिले उत्पादनमा छैन । त्यो ल्याएर झण्डै १८ करोड कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएका छन् ।’
नेपाल एयरलाइन्स अहिले ४८ अर्ब रुपैयाँ घाटामा रहेको र चार वर्षदेखि ब्याज पनि तिर्न नसकेको उनले बताए । निगमका चार वटा जहाजमध्ये दुई वटा न्यारोबडी र दुईवटा वाइडबडी अहिले घाटामा चलिरहेको भन्दै सांसद खतिवडाले आन्तरिक उडानका लागि ८ अर्ब रुपैयाँमा किनिएका ६ वटा चिनियाँ जहाज लिलाम गर्दा अहिले ३८ करोडमा पनि बिक्री हुन गाह्रो भएको स्मरण गराएका छन् ।
मापदण्ड नै नपुगेका दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा किराती लागेको जिकिर गर्दै सांसद खतिवडाले पशुपति विकास कोष, एनएसी, लुम्विनी विकास कोषमा कामको आधारमा नभई दामको आधारमा नियुक्ति गरेको आरोप लगाएका छन् ।
मन्त्री एउटा झाडु र क्यामेरा लिएर मन्त्रालय प्रवेश गरेर भिडियो÷फोटो खिचेर बाहिर ल्याउने पद्धतिको विकास भएको वताउँदै सांसद खतिवडाले यसरी मुलुक कहाँ जाने हो भन्दै पर्यटनमन्त्री किराती र सरकारमाथि प्रश्न उठाएका छन् ।
सांसद खतिवडाले भने ‘सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गरेर त्यो भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रोमन्त्री हुने हो भने मुलुक कसरी विकास गर्ने ?’
सांसद खतिवडाले गौतम बुद्ध शान्तिका दूत, शान्तिका दूतको नामको लुम्बिनी विकास कोषको उपाध्यक्षमा लक्करमा गोली राख्ने ल्हारक्याल लामालाई नियुक्त गरेपछि देशको हालत के होला भन्ने प्रश्न पनि गरेका छन् ।