काठमाडौँ । इलाममा रिक्त प्रतिनिधिसभा सदस्यका लागि आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुवै क्षेत्रमा उपनिर्वाचनका लागि उक्त मिति तय गरिएको बताएका छन् ।
आइतबार बसेको आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय लिएको हो ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ भने बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो ।
सरकारसँगको परामर्शको आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ भने स्थानीय तहको उपनिर्वाचन मिति भने आयोगको परामर्शमा सरकारले तोक्ने छ ।




















