काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल हटाउन माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले भ्रष्टाचार मुद्दामा अख्तियारमा बयान दिइसक्दा पनि पदबाट राजीनामा नदिएको भन्दै तत्काल हटाउन सरकारको ध्यानाकर्षण समेत गराए।
एमाले सांसद पन्तले बालकुमारीघटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको समेत राजीनामा माग गरेका हुन्।
भ्रष्टाचार मुद्दामा मन्त्री बस्नेतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयान दिएको दावी गर्दै सांसद पन्तले तत्काल उनलाई हटाउनुपर्ने माग गरेका हुन्। उनले भ्रष्टाचामा मुछिएका व्यक्तिलाई क्याविनेटमा किन राखेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरे। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं नै भ्रष्टाचारीलाई बचाउनतिर लागेको आरोप लगाए।
उनले स्वास्थ्यमन्त्रीलाई कुनै पनि हालतमा पदमा बसिरहन नैतिकता नदिने बताए। सांसद पन्तले प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्छु् भनेर संसदमा भाषण गर्नुको कुनै औचित्य नभएको जिकिर गरे। यसैगरी उनले लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको भन्दै विरोध समेत जनाए।
उनले बालकुमारी घटना हुनेबितिकै मन्त्री ज्वालाले नैतिकताका हिसावले राजीनामा दिनुपर्ने भएपनि त्यसो हुन नसकेको धारणा राखे। उनले यस्ता विवादित व्यक्तिहरूलाई तत्काल पदबाट हटाउन आग्रह गरे ।




















