काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ । आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको छ ।
१४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवस टुंगो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा फागुन ७(१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी यो पटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रुपमा बैठकमा सहभागी गराउने निर्णय गरिएपछि बारा क्षेत्र नं ३, पर्सा क्षेत्र नं १, सोलुखुम्बु, खोटाङ्ग, धादिङ्ग क्षेत्र नं १, दोलखा, ओखलढुङ्गा, काठमाडौं क्षेत्र नं ५, दाङ्ग क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १, बाग्लुङ्ग क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ का प्रतिनिधिहरु महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।
त्यस्तै १४ औं महाधिवेशन पश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका १२ भ्रातृ संघ र ६ शुभेच्छुक संस्थाहरुको हकमा अध्यक्ष सहित तीन जना महासमिति सदस्यको रुपमा सहभागी गराउने निर्णय पनि कांग्रेसले गरेको छ ।
ती भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल किसान महासंघ र नेपाल थारु संघ छन् ।
यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ र नेपाल मुस्लिम संघका अध्यक्षसहित तीन जना महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।
शुभेच्छुक संस्थाहरूमा नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनका प्रतिनिधिहरु पनि महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।
यसअघि शुभेच्छुक संस्थाहरुले आफूहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै महासमिति बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए ।
ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ ।
बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा। प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ।




















