काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समन्वय समितिले महाअभियानको घोषणा गरेको छ ।
आज बानेश्वर थापा गाउँमा नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको हो ।
थापागाउँस्थित बानेश्वर बैंक्वेटमा आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा भएको नेता भण्डारीले बताए ।
कांग्रेसमा पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ। यसअघि शुक्रबार नेपाली कांग्रेसका नेताहरूले केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव पेस गरेका थिए ।
केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू धर्मको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेस गरेका हुन् । केन्द्रीय सदस्य शंकर भण्डारीले सनातन हिन्दूराष्ट्रको पक्षमा उभिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई २२ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका थिए ।
पुरक प्रस्ताव पेश गर्नेहरूमा शंकर भण्डारी, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली ‘स्नेही’, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दीलेन्द्रप्रसाद बडू, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजङ्गबहादुर सिंह, सीताकुमारी राना, पुष्पा भुसाल, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डा। डिला संग्रौलालगायत रहेका छन् ।
९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्नेगरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको उनीहरूको प्रस्तावमा उल्लेख छ ।
यसअघि, पार्टीको १३औँ महाधिवेशनपछि काठमाडौंमा आयोजना भएको पार्टीको महासमिति बैठकमा पनि साढे चार सय जनाभन्दा बढी महासमिति सदस्यहरूले हस्ताक्षरसहित हिन्दूराष्ट्र घोषणाको मागसहित प्रस्ताव लगिएको थियो ।
सोही सिलशिलामा केन्द्रीय सदस्यहरुले आज सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणासभा गरेका हुन् ।
नेपालका मौलिक सनातन हिन्दू एवम् बौद्ध, जैन, किराँत, शिख, प्रकृतिपूजक लगायतका धर्म र हाम्रा विविध जाति, जनजातिका परम्परागत स्थानीय मौलिक सनातन संस्कृतिले नै नेपालको हिमाल, पहाड र तराईका जनतालाई एक सूत्रमा बाँधेर राष्ट्रियतालाई बलियो बनाएको तथ्यलाई स्वीकार गर्दै, नेपालका प्रचीनतम देवालय, तीर्थालय, साधनालय रहिआएका मठ-मन्दिर, स्तुपा र गुम्बा, स्थानिक आदिप्रति रहिआएको अविचलित आस्था र विश्वासलाई गौरवबोध गर्दै, सनातनी धार्मिक, आध्यात्मिक, साँस्कृतिक, प्राकृतिक, एवम् भौगोलिक सम्पदाले धनी नेपालमा जाति, भाषा र भौगोलिक विविधताका बीचमा हामी नेपाली एक-आपसमा सौहार्दतापूर्ण रूपमा मिलेर बसिरहेको अवस्थामा जनआन्दोलनको भावना विपरीत, पुर्खाको नासोको रूपमा रहिआएको सनातन हिन्दूराष्ट्रको मौलिक राष्ट्रिय पहिचानलाई हचुवाका भरमा नस्ट गरेर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको आराेप लगाएकाे छ ।
जसका कारण हाम्रो मौलिक नेपाली धर्म, संस्कृति एवम् सभ्यतामाथि बलजफ्ती गरी अतिक्रमण भैरहेको, आर्थिक प्रलोभनमा पारेर नियोजित रुपमा धर्मपरिवर्तन गराइएकोले धार्मिक एवम् सामाजिक सद्भावलाई बिथोलेर देशलाई विखण्डनको बाटोतर्फ उन्मुख गरिएप्रति गम्भीर चिन्ता लिँदै,जननेता वी।पी।कोइरालाले २०३३ सालमा अगिकार गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीतिप्रति प्रतिबद्धता व्यक्त गर्दै, वी।पी।ले आफ्नो जीवनको अन्तिम घडीमा “देश, देशको राष्ट्रियता र प्रजातन्त्रप्रति गम्भीर बन्दै “हामीहरू बडो अप्ठ्यारो स्थितिमा छौं । महाअभियानको विज्ञप्तिमा भनिएको छ ।
घोषणा पत्र मार्फत महाअभियानले भनेको छ, ‘धर्म–निरपेक्ष संविधान जारी भएपछिका बितेका ८ वर्षमा हाम्रा वैदिक सनातन धर्म, संस्कृति एवम् त्यसले सिर्जना गरेको हाम्रा वैभव र त्यसको जगमा निर्माण भएको मौलिक नेपाली पहिचान र अस्तित्वमाथि थप आक्रमण भैरहेको बताउँदै ‘नेपाली काँग्रेसको विभिन्न तह र ओहदामा रहेका क्रियाशील कार्यकर्ताहरूको संगठित समूहले निम्न लिखित तथ्य र आधारमा नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल बनाउन दृढता व्यक्त गर्दै त्यसका लागि यो महाअभियानमा सत्य, निष्ठा र इमान्दारिकासाथ निरन्तर क्रियाशील बन्ने प्रण गर्दछौं ।’