काठमाडौं । नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पदबाट बर्खास्त गरेर कारबाही गर्न माग गरेको छ ।
दुई युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनामा प्रमुख दोषी मन्त्री ज्वाला भएको निष्कर्षसहित जाँचबुझ आयोगले शुक्रबार सरकारलाई प्रतिवेदन बुझाएपछि एमालेले उनलाई मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको भन्दै बर्खास्तीको माग गरेको हो ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका हुन् । बर्तौलाले मन्त्रीकै गम्भीर कमजोरी र लापरबाहीको कारण दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालेपछि एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बस्ने छुट नभएको स्पष्ट पारे।
उनले दोषी मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउँदा न्याय नहुने धारणा राखे ।
घटनाको दिन मन्त्री ज्वालाले मन्त्रीका लागि दिइएको सरकारी सवारी चालकलाई नभई आफ्ना घरेलु सवारी चालकलाई लगेकोकाले पनि उक्त घटनामा सजगता अपनाउन नसकेको आयोगको ठहर छ ।




















